27 Feb 2026

05:25 PM

सामाजिक अभियन्ता आशिका तामाङको प्रतिनिधिसभा चुनावमा उम्मेदवारी घोषणा

The Kalika Online

27 Feb 2026

# Politics

चर्चित सामाजिक अभियन्ता आशिका तामाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने घोषणा गरेकी छन्। उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ वा ९ मध्ये एक क्षेत्रबाट स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लड्ने बताएकी छन्।

विभिन्न सरोकारवालासँगको छलफल र सामाजिक सञ्जालमार्फत गरिएको मत सर्वेक्षणपछि आफू निर्वाचनमा होमिन तयार भएको आशिकाले जानकारी दिएकी हुन्।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले छलफलका क्रममा सकारात्मक सुझावसँगै आलोचनात्मक तथा नकारात्मक प्रतिक्रियासमेत प्राप्त भएको उल्लेख गरेकी छन्। उनले ती सबै सुझाव र दृष्टिकोणलाई समान रूपमा सम्मान गर्दै दलगत राजनीतिभन्दा माथि उठेर स्वतन्त्र धारमा अघि बढ्ने निर्णय गरेको स्पष्ट पारेकी छन्।

आशिकाले आफू कुनै पनि राजनीतिक दलमा आबद्ध नहुने बताउँदै आगामी संसद् निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ र ९ लाई प्राथमिकतामा राखेर स्वतन्त्र उम्मेदवारी घोषणा गरेको जनाएकी छन्। विशेषगरी जेन–जी पुस्ताले उठाइरहेका आवाज, मुद्दा र परिवर्तनको चाहनालाई सडकदेखि सदनसम्म सशक्त रूपमा प्रतिनिधित्व गर्नुपर्ने आवश्यकता महसुस गर्दै यो निर्णयमा पुगेको उनको भनाइ छ।

उनका अनुसार यो उम्मेदवारी व्यक्तिगत महत्वाकांक्षाभन्दा पनि नयाँ पुस्ताको आवाज, जवाफदेही राजनीति, पारदर्शिता र व्यावहारिक समाधानप्रतिको प्रतिबद्धताबाट प्रेरित छ।

‘युवाहरूको सपना, भविष्य र देशको समग्र हितका लागि दृढ, स्वतन्त्र र निर्भीक रूपमा अघि बढ्नेछु,’ उनले उल्लेख गरेकी छन्, ‘“हाम्री दिदीले हाम्रो आवाज बोल्नुहुन्छ” भन्ने विश्वासलाई कहिल्यै टुट्न दिने छैन।’

आशिकाले आफ्नो राजनीतिक यात्राका लागि तीन मुख्य अठोटसमेत सार्वजनिक गरेकी छन्। ती हुन्—
– युवा पुस्ताको भावनाको कदर
– सडकदेखि सदनसम्म जनसरोकारका मुद्दाको सशक्त उठान
– भ्रष्टाचारविरुद्धको निरन्तर लडाइँ


The Kalika Online is a news portal that provides the latest and up-to-date news and information related to Nepal and the world. Stay connected with us for timely updates on current affairs and breaking news.

Contact

  • Kalika Municipality-3, Chitwan

  • 9763579027

  • thekalikaonline@gmail.com

Quick Links

Copyright © 2025, The Kalika Online All rights reserved.

Powered by Dipesh Chaudhary. .